आइसोलेसनबाट फरार मगराती नियन्त्रणमा, उदयपुरका पाँच जनामा भाइरस फेला परेन

1

गाईघाट । नौ दिन अघि उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डबाट फरार भएका एक युवालाई खोटाङ हलेसी तुवाचुङ नगरपालिकाबाट नियन्त्रणमा लिइएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा अस्पतालमा उपचारका लागि राखिएका उदयपुरको ताप्ली गाउँपालिका वडा नं ४ का ३८ वर्षीय कीर्तिमान मगरातीलाई सुरक्षाकर्मीको सहयोगमा नगरपालिकाले आइतबार नियन्त्रणमा लिएको हो ।

फरार पछि तीन दिनअघि हलेसीतुवाचुङ नगरपालिका वडा न. ५ दुर्छिमको हैदेमा रहेका छोरीज्वाईंको घरमा लुकेर बसेका मगरातीलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको नगरप्रमुख इवन राईले बताउनुभयो ।

भारतको सिलगुढीबाट घर ताप्ली गाउँपालिका तर्फ हिँडेका २१ जना मध्ये कीर्तिमानलाई ज्वरो देखा परेपछि अस्पतालको आइसोलेसनमा राखिएको थियो भने बाँकीलाई नेपाली सेनाको रणसार्दुल गण वेलसोतको क्वारेन्टाइनमा राखि उपचार भईरहेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।

यसैबीच, कोरोना भाईरसका विरामी रहेको आशंकामा नमूना संकलनमा पठाइएको उदयपुरका पाँचै जना विरामीको नतिजामा भाइरस फेला परेन । बाँकी दुई जना त्रियुगा नगरपालिकाको शनिबार बेलुका खकार संकलन गरी परीक्षणका लागि धरान पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।
(गोरखापत्र अनलाइनबाट)