फिफाको सूचना ढाँट्दै एन्फा

59

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को सहमतिअनुसार भन्दै आइतबार दोस्रोपल्ट निर्वाचन सारेर १४ चैतमा चुनावी साधारणसभा गर्ने निर्णय गरेको थियो । तर फिफाले उक्त मितिलाई स्वीकृति नदिएको रहस्य खुलेको छ ।

‘चुनावी साधारणसभा स्थगन गरी २८ मार्च २०१८ (२०७४ साल चैत १४) मा सञ्चालन गर्ने एन्फाको अनुरोधलाई फिफा र एएफसी (एसियाली फुटबल महासंघ) ले अनुमोदन गरेको छ,’ एन्फाको फेसबुकमा लेखिएको छ । एन्फा कार्यसमिति बैठकले पनि फिफा र एएफसीको अनुमोदन बमोजिम नै पुस ५ देखि माघ ५ सम्म जिल्लाको निर्वाचन र १४ चैतमा केन्द्रीय कार्यसमिति निर्वाचनसहितको साधारणसभा गर्ने निर्णय सार्वजनिक गरेको थियो । एन्फाका प्रवक्ता सन्जीव मिश्रले पनि फिफाकै स्वीकृतिअनुसार चुनावको नयाँ मिति तोकिएको बताएका थिए ।

फिफाले स्वीकृति दिएको भनी दाबी गरिएकोआइतबारको पत्रमा दोस्रोपल्ट चुनावी साधारणसभा सारेर तोकिएको मितिलाई स्वीकृति दिएको कुनै व्यहोरा नभएको एन्फाकै एक उच्च पदाधिकारीले बताए । ‘कार्यसमिति बैठकमा हामीलाई फिफाको चिठी पढेर सुनाइएको थियो तर त्यसमा साधारणसभाको नयाँ मिति तोक्नलाई सहमति दिइएको थिएन । हामीले प्रश्न गर्दा फिफा र एएफसीको सहमति भएको नेतृत्वले बताएका थिए,’ एन्फा स्रोतले भन्यो । एन्फा स्रोतबाट प्राप्त फिफाका सहायक महासचिव जेभोनिमिर बोबनद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘एन्फाले पठाएको सूचनाका आधारमा नेपालको निर्वाचन सकिसक्यो । हामी अपेक्षा गर्छौं कि एन्फाले शीघ्र आफ्नो जिल्लाको चुनाव र तत्पश्चात् केन्द्रको चुनावी साधारणसभा गरोस् ।’ उक्त पत्रमा एन्फा महासचिव धिरेन्द्र प्रधानलाई सम्बोधन गरिएको छ ।

फिफाले लेखेको छ– २० डिसेम्बर २०१७ देखि १९ जनवरी २०१८ सम्ममा जिल्ला संघको निर्वाचन र त्यसपछि चुनावी साधारणसभा २८ मार्च २०१८ मा हुने हामीलाई जानकारी आएको छ । यद्यपि हामी चाँडोभन्दा चाँडो निर्वाचन सम्पन्न होस् भन्ने चाहन्छौं । ढिलो नगरी १३ डिसेम्बरसम्म निर्वाचनको योजना पेस गर्न एन्फालाई अनुरोध गर्दछौं