प्रदेश ७ को राजधानीको माग राख्दै गरिएको बन्दले डोटीको जनजीवन अस्तव्यस्त

31

दिपायल, पुस २४ । राजधानीको माग राख्दै गरिएको बन्दले डोटीको जनजीवन अस्तव्यस्त बन्दै गएको छ। लगातार छैटौं दिनदेखिको आमहड्ताले गर्दा जनजीवन प्रभावित बनेको हो।

आमहड्ता भएको छ दिन भएपनि शान्तिपूर्ण आन्दोलन भएको भने आज १२ औं दिन पुगेको छ। प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायलमा कायम गरिनुपर्ने माग राख्दै उद्योग बाणिज्य संघको नेतृत्वमा आन्दोलन गरिएको हो। बजार समेत पूर्ण रुपमा बन्द गरिएको छ। आन्दोलन दिन प्रति दिन शसक्त बन्दै गएको छ।

डोटीमा क्रियाशील राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सम्पूर्ण निकायको सहभागीतामा दिन प्रति दिन आन्दोलन चर्कीदै गएको हो। लगातारको आन्दोलनले यातायात पूर्ण रुपमा बन्द रहेका छन् भने डोटी हुँदै अछाम, बाजुरा लगायतका जिल्लामा जाने सवारी साधनहरु बीच बाटोमै अलपत्र अवस्थामा रहेका छन्। डडेल्धुरा र डोटीको सिमानामा कैलालीबाट आएका सवारी साधन तथा यात्रुहरुको चाँप समेत बढ्दै गएको छ।

चिसो मौसममा बन्दका कारण बीचबाटोमै अलपत्र भएका कारण यात्रुहरुले सास्ती व्यहोर्नुु परेको छ। यातायात चल्न नसक्दा दैनिक उपभोग्यका सामानहरु समेत भित्रिन सकेका छैनन्। लगातारको बन्दका कारण जिल्लाभरी तरकारी लगायत खाद्यान्नको अभाव सृजना हुन थालेको छ। खाद्यान्नको अभावका कारण दिपायल तथा सिलगढीमा संचालनमा रहेका होटलहरु समेत बन्द हुने अवस्थामा रहेका छन्।

‘लगातारको बन्दले गर्दा होटल पनि बन्द गर्नुपर्ने अवस्था आएको छ।’, होटल संचालक सिद्धराज जोशीले भने, ‘बजार खल्दैन, साँझ बिहान खुलेपनि तरकारीदेखि अन्य खाद्यान्नका सामानहरु पाईदैनन्।’ ‘होटलमा ग्राहकहरु आउछन् तर फर्केर गईरहेका छन्’, उनले भने।

छिमेकी जिल्ला डडेल्धुरा तथा कैलाली हुँदै इन्डीयाबाट आउने तरकारी तथा अन्य उपभोग्यको सामग्रीहरु आउन सकिरहेको छैन। आन्दोलनका लागि गाउँ-गाउँबाट दिपायल तथा सिलगढीमा मान्छेहरु आएपछि उपभोग्यको सामग्रीको माग बढेपनि आपुर्ति हुन नसक्दा अभाव सृजना हुन थालेको हो।

यदि सरकारले डोटीको पक्षमा निर्णय नगरे अझै आन्दोलन लम्बिने संघर्ष समितिका संयोजक नरेन्दबहादुर खड्काले बताए। ‘आन्दोलन अझै शसक्त रुपमा लैजान्छौं।’, खड्काले भने, ‘बजार क्षेत्रमा खाद्यान्न अभाव भएपनि गाउँ-गाउँबाट खाद्यान्न ल्याएर पनि पूर्ति गराउने छौं।’ ‘हामी राजधानी कायम नहुन्जेलसम्म आन्दोलन गरिराख्ने छौं, थाक्ने छैनौं’ उनले भने, ‘सबै पहाडी जिल्ला ठप्प हुनेगरी आन्दोलन छेड्ने छौं।’

सडक बन्यो खेलमैदान
लगातारको बन्दका कारण डोटीका सडकहरु सुनसान रहेका छन्। बनदका कारण सडकमा गाडीहरु नचल्दा बच्चाहरुले खेलमैदानको रुपमा प्रयोग गरिरहेका छन्। शैक्षिक संस्थाहरु समेत बन्द भएका कारण अहिले बिद्यार्थीहरु सबै सडकमा खेलिरहेका पाईन्छन्। खुल्ला सडक भएका कारण बिद्यार्थीहरु क्रिकेट, फुटबल लगायतका खेल खेल्दै रमाईरहेका छन्।

‘स्कुलमा बिदा पनि भयो, सडकहरु खुल्ला पनि भए’, मोनिङ्ग लाईट स्कुलमा कक्षा नौ मा अध्ययनरथ बिद्यार्थी उत्सब कार्कीले भने, ‘स्कुल संचालन भयो भने यसरी खेल्न पाईदैन।, अहिले साथीहरुसंग रमाईलो पनि भईरहेको छ।’ रातिको समयमा समेत सवारीका साधनहरु चल्न सकेका छैनन्।

भाँडाकुँडा लिएर आन्दोलनमा
राजधानीको माग गर्दै आन्दोलनमा उत्रेका आन्दोलनकारीहरु आईतबार घरबाट भाँडाकुँडा लिएर र्‍यालीमा निस्केका छन्। डोटीको सदरमुकाम सिलगढीमा आन्दोलनकारीहरुले थाल, प्लेट, कचौरा तथा चम्मज ठटाउँदै (बजाउँदै) र्‍यालीमा निस्केका हुन्। दबाव स्वरुप सरकारलाई सुनाउने उद्देश्यले थालहरु बजाइएको सिलगढी आन्दोलनका संयोजक रघुबहादुर कठायतले बताए।

दिपायलमा भने मैनबत्ती बलेर ब्याली निकालिएको छ। दिपायलको पिपल्ला बजारबाट निस्केको मैनबत्ती सहितको र्‍याली राजपुर स्थित क्षेत्रीय प्रशासन कार्यालयको गेटमा गएर कोणसभामा परिणत भएको थियो। सरकारलाई दबाव स्वरुप आन्दोलन बिभिन्न कार्यक्रम गरी संचालन भईरहेको छ। आन्दोलन अझै जारी रहने संयोजक नरेन्द्रबहादुर खड्काले बताए।

दिपायल