प्रदेश प्रमुखको नालीबेली : महन्थका सम्धीदेखि कांग्रेसका नवप्रवेशीसम्मअटाए

76

सात प्रदेशले बुधवार प्रदेश प्रमुख पाएका छन् । यससँगै प्रदेशसभा गठनको बाटो खुलेको छ । तर, प्रदेश प्रमुखहरूको चयन जसरी भएको छ, यसमा नेपाली काँग्रेसले एकलौटी गरेको छ । एक जना चाहिँ मधेसी मोर्चालाई फकाउने रणनीतिअनुसार नेताका सम्धीलाई प्रदेश प्रमुख बनाइएको छ ।

प्रदेश प्रमुख नहुँदा निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक गर्न सकेको थिएन । अब आयोगले अन्तिम परिणाम सार्वजनिक गरेर प्रदेश प्रमुखलाई बुझाउनेछ र प्रदेशसभा सदस्यहरूको शपथको प्रक्रिया सुरु हुनेछ ।
को को भए प्रदेश प्रमुख ?

प्रदेश प्रमुखको नालीबेली::

प्रदेश १ को प्रमुखमा डा. गोविन्द तुम्बाहाङ (सुब्बा) नियुक्त भएका छन् । उनी काँग्रेसका कार्यकर्ता हुन् । तर, बहुदल नआउञ्जेलसम्म उनी तत्कालीन नेकपा मालेसमर्थित अनेरास्ववियूका कार्यकर्ता थिए । बहुदल आइसकेपछि काँग्रेसमा प्रवेश गरेका हुन् ।
०४९ सालको स्थानीय चुनावमा धरानको मेयरमा काँग्रेसबाट उम्मेदवार बनेका उनी २२५ भोटले हारेका थिए । चुनाव हारेपछि प्राध्यापन पेशामै फर्किएका डा. सुब्बा सिनासका प्रोफेसर हुन् ।

प्रदेश २ को प्रमुख बनेका रत्नेश्वर लाल कायस्थ पूर्वप्रशासकका साथै सङ्घीय फोरमका सचिव पनि हुन् । सुरुमा उनलाई प्रदेश ५ को प्रमुख नियुक्त गर्न लागिएको थियो तर, फोरमको दबाबमा २ मा आएका छन् ।

प्रदेश ३ को प्रमुख बनेकी अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । सन् २०१० मा सीएनएन हिरो समेत भएकी उनले भारत सरकारबाट पद्मश्री सम्मानसमेत पाएकी छिन् । कोइराला चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा काँग्रेस प्रवेश गरेकी थिइन् ।

प्रदेश ४ को प्रमुख बनेका बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । काँग्रेस निकट कानुन व्यवसायीहरूको छाता सङ्गठन डेमोक्रेटिल लयर्स एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका कुँवर सुशील कोइराला सरकारको पालामा सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता बनेका थिए ।

प्रदेश ५ का प्रदेश प्रमुख बनेका उमाकान्त झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका मन्त्री पनि हुन् । उनी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् । ठाकुरकै पहलमा रेग्मी सरकारमा मन्त्री बनेका झालाई अहिले प्रदेश ५ को प्रमुख बनाइएको छ ।

प्रदेश ६ को प्रमुख नियुक्त भएका सुर्खेतका दुर्गाकेशर खनाल काँग्रेसका पुराना नेता हुन् भने मोहनराज मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य हुन् । मल्ल केही समयअघि मात्र काँग्रेसमा प्रवेश गरेका थिए ।