सुदुर पश्चिम बैतडीमा बर्षेबालीको उत्पादनमा वृद्धि

75

बैतडी, पुस २० । बैतडीमा यो बर्ष बर्षेबालीको उत्पादनमा वृद्धि भएको छ । गत बर्षको तुलनामा यो बर्ष बर्षे बालीको उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्णबहादुर चन्दले बताएका छन् । मकैको उत्पादनमा गत बर्षको तुुलनामा २५ प्रतिशतले वृद्धि भएको छ ।

२०७३ सालमा १८ हजार ९९५ मेट्रिकटन मकै उत्पादन भएकोमा यो बर्ष २३ हजार ९ सय २५ मेट्रिकटन मकै उत्पादन भएको छ । जिल्लामा १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती गरिदै आएको छ ।यसैगरी गतसालको तुलनामा धान उत्पादनमा पनि वृद्धि भएको योजना अधिकृत चन्दले बताएका छन् । गत बर्ष १८ हजार ५४० मेट्रिकटन धान उत्पादन भएकोमा यो बर्ष १८ हजार ९ सय मेट्रिकटन धान उत्पादन भएको योजना अधिकृत चन्दले बताएका छन् । बैतडीमा ९ हजार हेक्टर जमीनमा धान खेती गरिदै आएको छ ।

यस्तै गतसालको भन्दा यो बर्ष भटमासको उत्पादनमा पनि वृद्धि भएको छ । गतसाल १ हजार १५५ मेट्रिकटन भटमास उत्पादन भएकोमा यो बर्ष १ हजार १६३ मेट्रिकटन भटमास उत्पादन भएको चन्दले बताएका छन् । समयमा पानी पर्नु, उन्नत जातको बीउ प्रयोग हुनु, किसानहरु व्यसायिक हुनु लगायतका कारण बर्षे बालीको उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

साभार