नेपालमा लिइने IELTS को प्रश्नपत्र २ लाखमा बिक्री, अन्तर्राष्ट्रिय गिरोहको संलग्नता

31

काठमाडौं–ब्रिटिस काउन्सिलले लिने आइइएलटिएसको परीक्षामा प्रश्नपत्र लिक गराएर परीक्षा उत्तीर्ण गराउने धन्दामा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

पक्राउ परेका काउन्सिलका एजेन्ट सुरज तामाङको अन्तर्राष्ट्रिय समूहसँग सम्पर्क देखिएको छ। प्रहरी स्रोतका अनुसार, एक भारतीयमार्फत उनले पहिले नै प्रश्नपत्र पाउँदै आएका थिए। उनले लामो समयदेखि आइइएलटिएस परीक्षा उत्तीर्ण हुन चाहने विद्यार्थीलाई प्रश्नपत्र बिक्री गर्दै आएको प्रहरीले जनाएको छ।

तामाङ पुतलीसडकस्थित एक कन्सलटेन्सीका सञ्चालक हुन्। प्रश्नपत्र लिक गराउनेमा काउन्सिलका नेपालस्थित कर्मचारीभन्दा अन्य देशमा रहेका काउन्सिलका कर्मचारीहरुको संलग्नता देखिएको स्रोत बताउँछ। विश्वभरि नै ब्रिटिस काउन्सिलको परीक्षा प्रणाली एउटै हुने भएकाले अन्य देशका काम गर्ने व्यक्तिको मिलेमतोमा चलखेल हुने गरेको हो।

तामाङले भारतीय विद्यार्थीलाई समेत नेपाल ल्याएर प्रश्नपत्र पहिले नै बिक्री गरी आइइएलटिएसको परीक्षा दिन लगाउँदै आएको समेत अनुसन्धानमा खुलेको छ। आइइएलटिएसको प्रश्नपत्र बिक्रीमा दुई लाख रुपैयाँसम्म लेनदेन हुने गरेको खुलेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार राति आइइएलटिस परीक्षाको प्रश्नपत्र लेनदेनमा संलग्न १३ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका एक एजेन्टले ८ जना विद्यार्थीसँग पैसा उठाएर मुख्य एजेन्टलाई दिँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। एकै जना विद्यार्थीसँग दुई लाख रुपैयाँसम्म लिइएको थियो। प्रहरीले पैसा बुझाएर प्रश्न किन्ने विद्यार्थीलाई समेत पक्राउ गरेको छ। ८ जना विद्यार्थीसँग लिइएको ४ लाख १५ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ।

प्रश्नपत्र भाइबरमार्फत दिने गरिएको प्रहरीले जनाएको छ। शनिबारका लागि तय भएको आइइएलटिएस परीक्षाको प्रश्नपत्र प्रहरीले शुक्रबार नै बरामद गरेको थियो। अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार शुक्रबार भेटिएका प्रश्नपत्र र शनिबार परीक्षामा सोधिएका प्रश्नहरु एउटै छन्।

गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसरले शुक्रबार राति अपरेसन चलाई प्रश्न बिक्री गर्ने र खरिद गर्नेहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकामाथि विस्तृत अनुसन्धान पूरा भइनसकेकाले नामहरु सार्वजनिक नगरिएको काठमाडौं परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीले बताए।

साभार